नेपालमा लिपमोटर गाडीहरूको एक मात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले यही १४ साउनमा उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० को 'स्रिक प्रिभ्यु' कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा स्मार्ट डिजाइन, आधुनिक सुविधाहरू र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको प्रतीक्षित इलेक्ट्रिक गाडीको प्रद्धर्शन गरिएको थियो ।
नेपालमा पहिलोपटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ । ६७.१ किलोवाट आवर ब्याट्रीसहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किमिसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरोपेली एनसीएपीको ५–स्टार सेफ्टी रेटिङले यात्रुको सुरक्षालाई प्राथमिकता दिन्छ ।
स्रिक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ । लिपमोटर बी१० को औपचारिक लन्च तथा प्राइस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ ।
यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा २१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । यद्यपि, मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमोटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ ।
