Logo

सोमवार, कार्तिक १० गते २०८३

images

एनपीएल पुरस्कार राशि, विजेताले डेढ करोड रुपैयाँ पाउने

एनपीएल पुरस्कार राशि, विजेताले डेढ करोड रुपैयाँ पाउने

सोमवार, कार्तिक १० २०८३
सोमवार, कार्तिक १० २०८३
  • नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पुरस्कार राशि वृद्धि भएको छ ।  

    नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणको विजेताले १ करोढ ५० लाख रुपैयाँ पुरस्कार पाउने जानकारी दिएको हो । यसअघि एनपीएलको पहिलो र दोस्रो संस्करणका विजेताले १ करोड रुपैयाँ पुरस्कार पाएका थिए ।

    एनपीएलको तेस्रो संस्करणमा विजेताको पुरस्कार राशि ५० लाख रुपैयाँले बढाइएको क्यान कोषाध्यक्ष पदम खड्काले जानकारी दिए ।

    एनपीएलको तेस्रो संस्करणको अघिल्लो दिन आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा कोषाध्यक्ष खड्काले एनपीएलको आम्दानीमा वृद्धि भएकाले पुरस्कार राशि पनि बढाइएको बताए ।

    'यस सिजन प्रायोजनबाट २० करोड र टिकटिङ तथा प्रसारण अधिकार (ब्रोडकास्टिङ) बाट ७० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अपेक्षा गरेका छौँ,’ खड्काले भने, ’२७ दिन चल्ने प्रतियोगिताको अवधिभर एनपीएलको कुल आम्दानी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान छ । त्यसैले यसपटक पुरस्कार राशि बढाएका हौँ ।’

     

    कोषाध्यक्ष खड्काका अनुसार, यसपटक उपविजेता टिमले ८० लाख रुपैयाँ पुरस्कार पाउनेछ । यस्तै, तेस्रो हुने टिमले ४० लाख र चौथो हुने टिमले ३० लाख रुपैयाँ पाउने कोषाध्यक्ष खड्काले बताए ।

    क्यानको वर्तमान नेतृत्वले नेपाली क्रिकेटलाई आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने तथा संस्थाको कार्यकाललाई उपलब्धिमुलक बनाउने लक्ष्यसहित काम गरिरहेको कोषाध्यक्ष खड्काले बताए ।

    एनपीएलको पहिलो संस्करणदेखि तेस्रो संस्करणसम्म आइपुग्दा प्रतियोगिताले आर्थिक रूपमा उल्लेखनीय प्रगति गरेको र यसले नेपाली क्रिकेटको व्यावसायिक विकासमा थप योगदान पुर्‍याउने अपेक्षा क्यानको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend