ललितपुर। WBC Muay Thai Lalitpur को आयोजनामा ललितपुरमा सञ्चालन भएको ‘अमेजिङ मुवाथाई राष्ट्रिय महोत्सव २०२६’ सम्पन्न भएको छ। प्रतियोगितामा देशका विभिन्न स्थानका मुवाथाई क्लब तथा जिमबाट १६० भन्दा बढी खेलाडी सहभागी भएका थिए।
प्रतियोगितामा विभिन्न तौल समूह तथा विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए। एकै समयमा दुईवटा रिङमा प्रतिस्पर्धा सञ्चालन गरिएको आयोजकले जनाएको छ। प्रतियोगिता अवलोकन गर्न तीन दिनमा ५ हजारभन्दा बढी दर्शक उपस्थित भएको बताइएको छ।
नेपालमा मुवाथाई खेलको विकास तथा विस्तार गर्ने, युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र प्रतिभाशाली खेलाडीलाई राष्ट्रियस्तरको प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
समापन तथा पुरस्कार वितरण समारोहमा ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो। उहाँले प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो।
प्रतियोगिताले नेपालमा मुवाथाई तथा कम्ब्याट स्पोर्ट्सप्रति युवापुस्ताको बढ्दो रुचिलाई प्रतिबिम्बित गरेको आयोजकको भनाइ छ। आगामी दिनमा राष्ट्रिय प्रतियोगिता, खेलाडी विकास, प्रशिक्षण तथा प्रतिस्पर्धाका अवसर विस्तार गर्दै मुवाथाई खेललाई थप व्यवस्थित र व्यावसायिक बनाउने योजना रहेको WBC Muay Thai Lalitpur ले जनाएको छ।
