Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

विपद्को समयमा पोषण व्यवस्थापन: रणनीति, चुनौती र पोषण विशेषज्ञको भूमिका

विपद्को समयमा पोषण व्यवस्थापन: रणनीति, चुनौती र पोषण विशेषज्ञको भूमिका

मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • डा. कविता महर्जन

    पोषणविद्

    नेपालको भोटेकोशी बाढीको सन्दर्भमा पोषणको आवश्यकता र औचित्य टड्कारो बनेको छ। बाढीका कारण घर, खाद्यान्न, खानेपानी, स्वास्थ्य सेवा र जीविकोपार्जनमा क्षति पुग्दा प्रभावित परिवारले पर्याप्त, सुरक्षित र सन्तुलित खाना पाउन कठिनाइ भोगिरहेका छन् । र यसबाट कूपोषण फैलिने डर रहन्छ । नेपाल सरकारले विपद् व्यवस्थापनमा पोषण व्यवस्थापन, खाद्य सुरक्षा तथा पोषण सेवाको निरन्तरताका विषयमा अझ बढी जोड दिनुपर्ने देखिन्छ। आपत्कालीन तथा विपद्को समयमा पोषण व्यवस्थापन सम्बन्धी विषयलाई पठनपाठन मै समावेश गर्दा भविष्यमा यससँग लड्ने जनशक्ति पर्याप्त मात्रामा रहने हुन्छ । सामान्यत पोषण भन्नाले स्वास्थ्य शरीरको लागि आवश्यक पोषकयुक्त खाना भन्ने बुझिन्छ । भोटेकोशी बाढीजस्तो विपद्का समयमा पोषण अवस्था अत्यन्त संवेदनशील हुन्छ।

    नेपालमा विपद्को समयमा पोषण व्यवस्थापन रणनीति

    विपद्को समयमा खाद्यान्न आपूर्ति, स्वास्थ्य सेवा, सुरक्षित खानेपानी, सरसफाइ तथा नियमित पोषण सेवामा अवरोध आउन सक्छ। त्यसैले विपद्को समयमा पोषणको संरक्षण, कुपोषणको रोकथाम तथा जोखिममा रहेका समूहको पोषण आवश्यकता पूरा गर्न विशेष ध्यान दिनुपर्छ। साथै, पर्याप्त, सुरक्षित र पोषणयुक्त खाद्यान्नको उपलब्धता तथा वितरण सुनिश्चित गरी विपद्को अवस्थामा पनि पोषण सेवाको निरन्तरता कायम गर्न आवश्यक हुन्छ।

    शीघ्र पोषण मूल्याङ्कन, जोखिममा रहेका समूहको पहिचान, सुरक्षित खाना तथा खानेपानीको व्यवस्था, कुपोषणको रोकथाम, कुपोषणको पहिचान तथा उपचार, शिशु तथा बालबालिकाको पोषण संरक्षण, पोषण अनुगमन तथा समन्वय, र पुनर्स्थापना तथा दीर्घकालीन सुधार विपद्को समयमा पोषण व्यवस्थापनका प्रमुख रणनीतिहरू हुन सक्छन ।

    त्यसैगरी पूर्वतयारीको सन्दर्भमा निम्न कुराहरुमा ध्यान दिन आवश्यक हुन जान्छ,

    • आपत्कालीन पोषण योजना तयार गर्ने , विपद लगत्तै प्रभावित समुदायमा कुपोषण, खाद्य असुरक्षा, जोखिममा रहेका समूह तथा विशेष आहार आवश्यक पर्ने व्यक्तिहरूको पहिचान गर्नुपर्छजसलाई द्रुत पोषण मूल्याङ्कन भनिन्छ ।
    • आपत्कालीन खाद्यान्नको व्यवस्था भण्डार गर्ने , आपत्कालीन अवस्थामा चिउरा, भुटेको भटमास, सोयाबिन, चना, दाल, चामल, पोषणयुक्त वा फोर्टिफाइड पिठो, बदाम, दूधको पाउडर, बिस्कुट, सुकेका तरकारी तथा फलफूल, सुरक्षित खानेपानी र ओआरएस जस्ता खाद्य तथा पोषण सामग्रीको व्यवस्था गर्नुपर्छ।
    • दूषित खाद्य पदार्थको व्यवस्थापन गर्ने तयारी
    • पोषणसम्बन्धी स्वास्थ्यकर्मीलाई तालिम दिने, स्वास्थ्यकर्मी तथा क्लिनिकल कर्मचारीलाई आधारभूत पोषण, पोषण मूल्याङ्कन, कुपोषणको पहिचान तथा प्रारम्भिक व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्छ। तालिममा रोगअनुसारको आहार व्यवस्थापन, पोषण परामर्श तथा उपयुक्त पोषण हस्तक्षेपका विषयहरू समावेश गर्नुपर्छ। साथै, आवश्यकता अनुसार खाद्य पदार्थमा परिमार्जन गर्ने तथा जटिल अवस्थाका बिरामीलाई आहार विशेषज्ञ वा सम्बन्धित विशेषज्ञकहाँ रेफर गर्ने ज्ञान र सीप प्रदान गर्नुपर्छ।
    • तौल लगायतका पोषण मूल्याङ्कन सामग्री तयारी अवस्थामा राख्ने , बालबालिका तथा गर्भवती महिलाको द्रुत पोषण परीक्षणका लागि MUAC टेप, तौल मेसिन तथा अन्य आवश्यक पोषण मूल्याङ्कन सामग्री आपत्कालीन तथा विपद् व्यवस्थापन किट तयारी अवस्थामा राख्नु पर्दछ। MUAC माथिल्लो बाहुलाको मध्य भागको परिधि लाई बुझाउँछ ।
    • आपत्कालीन अवस्थामा प्रयोग हुने औषधि तथा पोषण सामग्रीको पूर्व भण्डारण गर्ने ।

    खाद्य सुरक्षामा ध्यान दिनु पर्ने कुराहरु

    आपत्कालीन अवस्थामा पर्याप्त तथा पोषणयुक्त खाद्यान्नहरु जस्तो अन्न, दाल, तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ, अण्डा, मासु वा अन्य उपलब्ध प्रोटिनयुक्त खाद्य पदार्थ समावेश गर्नुपर्छ। स्थानीय समुदायमा प्रचलित, सहज रूपमा उपलब्ध तथा सांस्कृतिक रूपमा स्वीकार्य खाद्य पदार्थलाई प्राथमिकता दिनुपर्छ। यस्ता खाद्य पदार्थ पर्याप्त मात्रामा पोषणयुक्त हुनुका साथै स्थानीय समुदायले सहज रूपमा स्वीकार र प्रयोग गर्न सक्ने हुनुपर्छ। उमेर, लिङ्ग तथा विशेष पोषण आवश्यकताअनुसार सबै समूहका लागि उपयुक्त खाद्य पदार्थको व्यवस्था गर्नु पर्दछ।

    खाद्यान्न वितरण गर्दा परिवारको सदस्य संख्या, उमेर समूह तथा विशेष पोषण आवश्यकतालाई ध्यानमा राख्नुपर्छ। प्रभावित समुदायमा कति व्यक्तिका लागि कति खाद्यान्न, सुरक्षित खानेपानी तथा आवश्यक पोषण सामग्री आवश्यक पर्छ भन्ने कुराको पूर्वानुमान गरी सोहीअनुसार आवश्यक सामग्रीको मात्रा निर्धारण तथा वितरण गर्नुपर्छ।

    स्थानीय बजारलाई पुनःसञ्चालन गरी खाद्यान्न तथा आवश्यक पोषण सामग्री उचित तथा सुपथ मूल्यमा सहज रूपमा उपलब्ध हुने व्यवस्था गर्नु पर्दछ।

    सबैभन्दा महत्वपूर्ण भनेको शिशु तथा साना बालबालिकाको पोषण संरक्षण हुनुपर्छ । ०–६ महिनाका शिशुका लागि आमाको दूध नै सबैभन्दा उत्तम र पूर्ण पोषणको स्रोत हो। त्यसैले प्राकृतिक विपद्को समयमा पनि शिशुलाई नियमित रूपमा स्तनपान गराउन सक्ने सुरक्षित र सहज वातावरण सुनिश्चित गर्नु पर्दछ। सम्भव भएसम्म आमालाई शिशुसँगै राखी स्तनपानलाई निरन्तरता दिन प्रोत्साहन गर्नु पर्दछ।

    विशेष अवस्थामा आमालाई स्तनपानसम्बन्धी परामर्श तथा सहयोग दिने

    स्तनपान गराउने आमाका लागि सुरक्षित, गोप्य तथा सहज स्तनपान स्थलको व्यवस्था गर्नुपर्छ। आमालाई पर्याप्त पोषणयुक्त खाना, सुरक्षित खानेपानी तथा आरामको व्यवस्था गर्नुका साथै आवश्यकताअनुसार मनोसामाजिक परामर्श तथा सहयोग प्रदान गर्नुपर्छ। आमा र शिशुलाई सकेसम्म सँगै राख्ने व्यवस्था मिलाउनुपर्छ। ६ महिनापछि आमाको दूधलाई निरन्तरता दिँदै बालबालिकालाई उमेरअनुसार पर्याप्त, विविध, सुरक्षित तथा पोषणयुक्त पूरक आहार दिनुपर्छ। विपद्को समयमा पनि बालबालिकाको वृद्धि तथा विकासलाई ध्यानमा राखी ऊर्जा, प्रोटिन, भिटामिन तथा खनिजयुक्त खाद्य पदार्थको व्यवस्था गर्नु पर्दछ।

    पोषणयुक्त खानासँगै सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ तथा स्वच्छ वातावरण सुनिश्चित गर्नु पर्दछ। खाना पकाउने, भण्डारण गर्ने तथा खुवाउने क्रममा स्वच्छता कायम गरी पानी तथा खाद्य पदार्थको दूषितीकरणबाट हुने रोग तथा कुपोषणको जोखिम कम गर्नु पर्दछ।

    कुपोषणको पहिचान तथा उपचार

    कुपोषणको पहिचान तथा उपचारको क्रममा निम्न कुराहरुमा ध्यान दिन जरुरी छ,

    • बालबालिकाको तौल तथा अन्य पोषण सूचकहरू प्रयोग गरी पोषण अवस्थाको नियमित मूल्याङ्कन गर्ने र तीव्र कुपोषण भएका बालबालिकाको शीघ्र पहिचान गर्ने।
    • आवश्यकताअनुसार कुपोषित बालबालिकालाई उपयुक्त उपचार तथा पोषण पुनर्स्थापना केन्द्रमा रेफर गर्ने।
    • मध्यम तथा गम्भीर तीव्र कुपोषणको व्यवस्थापन राष्ट्रिय निर्देशिका तथा निर्धारित मापदण्डअनुसार गर्ने।
    • जोखिममा रहेका बालबालिका तथा परिवारको नियमित फलोअप र निगरानी गर्ने।

    विपद्को समयमा आवश्यकता अनुसार भिटामिन, आइरन तथा फोलिक एसिड, जिंक, अन्य आवश्यक सूक्ष्म पोषक तत्त्व तथा पूरक कार्यक्रमलाई निरन्तरता दिनु पर्दछ । सुरक्षित खानेपानी, खाद्य स्वच्छता तथा सरसफाइमा पर्याप्त ध्यान दिनु पर्छ र यसको व्यवस्था गर्नु पर्छ । जस्तो कि खाना पकाउनुअघि तथा खाना खानुअघि साबुनपानीले हात धुने, खाना राम्रोसँग पकाएर मात्र सेवन गर्ने, फोहोर तथा दिसाजन्य पदार्थको उचित व्यवस्थापन गर्ने र दूषित पानी तथा खाद्यान्नबाट हुने झाडापखाला तथा अन्य पानीजन्य रोगको रोकथाम गर्ने।

    विपद्को समयमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण तथा अन्य संक्रामक रोगको जोखिम बढ्न सक्छ। त्यसैले विशेष जोड दिनु पर्दछ।

    पोषण अनुगमन तथा निगरानी

    विपद्को समयमा नियमित रूपमा कुपोषणको अवस्था तथा दर, बालबालिकाको तौल, खाद्य पदार्थको उपलब्धता तथा पहुँच, आहारको विविधता, स्तनपानको अवस्था, खाद्यान्न तथा पोषण सामग्रीको वितरण आदिको अनुगमन गर्नु पर्छ । विपद्को समयमा प्रभावकारी पोषण व्यवस्थापनका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह बिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक देखिन्छ। यस क्रममा स्वास्थ्य संस्था, पोषणसम्बन्धी निकाय, गैरसरकारी, मानवीय सहायता तथा विकास साझेदार संस्था, समुदाय तथा स्वयंसेवक हरुको भूमिका पनि महत्वपूर्ण रहने गर्दछ ।

    प्राथमिकतामा राख्नुपर्ने समूह

    विपद्को समयमा ५ वर्षमुनिका बालबालिका, गर्भवती महिला, स्तनपान गराइरहेका महिला, किशोरकिशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पहिले नै कुपोषित व्यक्ति, विस्थापित तथा आश्रयस्थलमा रहेका परिवार, खाद्य असुरक्षामा रहेका परिवार र दीर्घरोग भएका तथा विशेष पोषण आवश्यकता भएका व्यक्तिहरु लाई प्राथमिकतामा राखेर हेर्नु पर्दछ ।

    निष्कर्ष

    विपद्को समयमा पोषण व्यवस्थापन राहत विषय मात्र नभई जीवनरक्षा र स्वास्थ्य संरक्षणको महत्वपूर्ण आधारभूत तत्व हो। त्यसैले नेपालले पूर्वतयारी, शीघ्र पोषण मूल्याङ्कन, सुरक्षित खाद्य तथा खानेपानी, जोखिम समूहको संरक्षण र उपचारलाई प्राथमिकता दिनुपर्छ। विश्वविद्यालयमा आपत्कालीन पोषण विषय समावेश गरी पोषण विशेषज्ञको भूमिका सुदृढ गर्न सके नेपालको समग्र कुपोषण र स्वास्थ्य जोखिम समस्याहरुलाई घटाउन सकिन्छ।



    उहाँ हाल नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रमा पोषणविद्को रुपमा कार्यरत हुनुहुन्छ । उहाँले पोषण विषयमा विद्यावारिधिको उपाधि हासिल गर्नु भएको छ ।

    Email: kdkabs@gmail.com

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend