काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले कुलमान घिसिङलाई हटाएको प्रति विरोध जनाएका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले चरम लोडसेडिङको मार खेपिरहेकामा कुलमानले उज्यालो छर्ने काम गरेको बताएका छन् । कुलमानको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण सम्भव भएको बताउदै प्रचण्डले सरकारले उनी माथि अन्याय गरेको बताएका छन् । प्राधिकरणको बाकी बक्यौता उठाउन खोज्दा उल्टो सरकारले स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको बताएका छन् । उनले सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक भन्दै दुई तिहाई बहुमतको दम्भमा गरिएको निर्णय भनी टिप्पणी गरेका छन् ।
सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको प्रति सत्तारुढ दल कांग्रेसले नै विरोध जनाएको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको यो कदम उल्टो बाटो भएको बताएका छन् ।
उनले आम नागरिकमा असन्तुष्टि बढिरहेको यो बेलामा कुलमान हटाउनु गलत भएको टिप्पणी गरेका हुन् । फेसबुकमा उनले लेखेका छन, आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ?
मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन,
निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कुलमानलाई हटाउनु समयोचित नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् कारवाही योग्य कोही भए पछि पनि गर्न मिल्ने बताउदै उनले राम्रा काम समेत छायामा पर्ने गरी सरकारले गरेको कुलमान हटाउने निर्णय बिल्कुलै ठीक नभएको बताएका छन् । असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ उनले भनेका छन् ।
त्यसैगरी कांग्रेसका अर्का नेता अर्जुननरसिंह केसीले सरकारको यो निर्णय विनाशेकाले विपरीत बुद्धी भन्दै टिप्पणी गरेका छन् । तीन चार महिना मात्रै बाँकी कार्यकाल रहेका कुलमानलाई हटाएर सरकारले बलिरहेको आगोमा घिउ थपेको उनले बताएका छन् ।
तीन चार महिना समयावधि सकेर यसै बाहिरन लागेका कुलमानलाई हतार हतार हठाउनुपर्ने कुनै कारण नभएको केसीको टिप्पणी छ । उनले फेसबुकमा लेखेका छन्, आम जनमानसमा दिनानुदिन बढिरहेको असन्तुष्टि र निरासाको वर्तमान परिवेश मा ३/४ महिना मात्र समय बाँकी रहेको एउटा सक्षम कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर " बलिरहेको आगो मा घिउ थप्ने काम सरकारको सर्वथा निन्दनीय र मूर्खता पुर्ण छ। यसै लाई भनिन्छ ~ "विनाश काले विपरीत बुद्धि "
