काठमाडौं ।नेपालमा Codeavour 8.0 को औपचारिक शुभारम्भ भएको छ। Neema Education Foundation को आयोजनामा सुरु भएको प्रतियोगितामा ७ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीले AI, Robotics र Coding प्रविधिको प्रयोगमार्फत विभिन्न समस्या समाधान गर्ने परियोजना निर्माण गर्नेछन्।
यस वर्ष नेपालभरका ५० भन्दा बढी विद्यालयबाट विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ। राष्ट्रिय प्रतियोगिताबाट छनोट भएका टोलीले सन् २०२७ को मेमा थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्। विभिन्न Track तथा उमेर समूहमा उत्कृष्ट हुने विद्यार्थीलाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा Innovation and Entrepreneurship, Clean Energy AI–Robo Challenge र Robo-Soccer League गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार Codeavour ले विद्यार्थीमा सिर्जनात्मकता, आलोचनात्मक सोच, सहकार्य र सञ्चार सीप विकाससँगै प्रविधिलाई वास्तविक जीवनका समस्या समाधानमा प्रयोग गर्ने अवसर प्रदान गर्दै आएको छ। नेपालमा यस वर्ष प्रतियोगिताको चौथो संस्करण आयोजना हुँदैछ।
