काभ्रे । नमोबुद्ध नगरपालिकाले जग्गाको स्वामित्व हस्तान्तरण, नामसारीलगायत भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्रदान गर्न थालेको छ। स्थानीय तहलाई भूमि प्रशासनसम्बन्धी अधिकार हस्तान्तरण भएसँगै नगरपालिकाले भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालनमा ल्याएको हो।
नगरपालिकाको प्रशासकीय भवन, भकुण्डेबेशीमा बुधबार (२०८३/०५/२४) आयोजित कार्यक्रममा भूमि व्यवस्थापन शाखाको समुद्घाटन गरिएको हो।
यसअघि साविक मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान हुँदै आएका भूमि प्रशासनसम्बन्धी सेवाहरू अब नमोबुद्ध नगरपालिकाबाटै उपलब्ध हुनेछन्। यसबाट सेवाग्राहीलाई भूमि प्रशासनसम्बन्धी कामका लागि अन्य कार्यालय धाउनुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ।
शाखा उद्घाटनसँगै पहिलो सेवाग्राहीलाई नगर प्रमुख कुनसाङ लामाले खादा लगाएर स्वागत गर्दै सेवा प्रवाहको शुभारम्भ गरेका थिए । नगरपालिकाबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएपछि स्थानीय नागरिकलाई सेवा लिन सहज हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी र पहुँचयोग्य हुने विश्वास गरिएको छ।
