Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

डोल्पा: हिमाल, संस्कृति र सम्भावनाको यात्रा

डोल्पा: हिमाल, संस्कृति र सम्भावनाको यात्रा

शनिवार, आषाढ २७ २०८३
शनिवार, आषाढ २७ २०८३
  •   डा. दीपक चौधरी                                                                                 

    चारैतिर अग्ला हिउँले ढाकिरहने अग्ला डाडाँकाँडा पर्वतहरु, छिनछिन मै परिवत्र्तन भईरहने मौसम, विश्व प्रसिद्द तालहरुको खानी, जडीबुटीको मगमगाउदो वास्ना र तिब्बती जीवनशैलीको रहनसहन तथा हिन्दु तथा बौद्व दुबैको समिश्रण संस्कृति बोकेको प्राकृतिक रमणीय डोल्पा ।

    क्षेत्रफलमा नेपाल कै सबैभन्दा ठूलो जिल्ला(७८८९ बर्ग कि.मी.) तर सबैभन्दा कम जनसंख्या (२९५४५, सन २००१ को र २०२१ मा ४२९५९) जिल्ला डोल्पा पुगेर आउनु आफैमा रोमान्चको अनुभूति हुन्छ । जिल्लामा एक मात्र बिमानस्थल जुफाल एयरपोर्ट छ, यहाँबाट सदरमुकाम दुनै पुग्न करीब तीन चार घण्टा लाग्छ । दुनै सदरमुकाम भेरी नदीसंगैको डाडामा अवस्थित छ । नेपालगन्ज तथा सुर्खेतबाट हवाई जहाज तथा हेलिकप्टरहरु पाईन्छ यातायातकालागि । पहिल्यैबाट चल्दै आएको पैदलमार्ग जाजरकोट/चौरझारीदेखि भेरी नदीको किनारै किनारको करीब चारदेखि पाँचदिन हिडेर दुनै पुगिन्छ । बर्खायाम बाहेक अन्य सिजनमा यही मार्गबाट सामानहरु भरिया, खच्चड, घोडा आदिबाट ढुवानी गरिन्छ । हामीलाई चार दिन लागेको थियो भेरीको तिरैतिरको बाटो ।

    जाजरकोट–डोल्पाको बाटोमा गर्मी सिजनमा प्रचण्ड गर्मीको सामना गर्नु पर्छ । जाजरकोट/चौरझारी–डोल्पाको यात्राको क्रममा रुकुमको चिसापानी वा रारी बजार, चौखा, त्रिवेनी बास बस्नु पर्दछ । तीन वटा जिल्लाहरु जाजरकोट, रुकुम र डोल्पाको सिमाना र भेरी तथा जगदुल्ला खोलाको संगम त्रिवेनी तेस्रो दिनमा पुगिन्छ । यहाँ पुगेपछि शितलको अनुभूति हुन्छ र डोल्पा प्रवेश गर्न लागेको आभास हुन्छ । त्रिवेणीमा हावाहुरी आउने सम्भावना रहन्छ ।

    पूर्बतर्फ ट्रेकिंग हिडने मानिसकालागि यो पदयात्रा अलि उराठ लाग्न सक्छ । उताको जस्तो सुबिधा तथा बिकास यता पटक्कै छैन । गोजीमा पैसा छ तर भने जस्तो खान पाउन सकिन्न । दुखसुख चलाउनु पर्छ । भौतिक पूर्वाधारको बिकासको नामोनिशान देखिदैन । हालै ग्राभेल बाटो खुलेको छ, तर यातायात रामभरोसे छ । अशिक्षा र गरीबी देख्न सकिन्छ । रुकुमको रारीदेखि अगाडि बढेपछि त्यस्तो ठूलो खेती योग्य फाँट भेटिदैन । त्रिवेणीबाट जगदुल्ला खोलाको तिरैतिर करीब पाँच छ घण्टाको दूरीमा ईला गाउँ पुगिन्छ, बाटोमा कालिका गाउँ पर्दछ । मुसलमानी नाम लाग्ने जगदुल्लाको बारेमा केही जिज्ञासाहरु पनि उब्जिन सक्छ तर तथ्यगत उत्तर भेटन गाहृो छ । हुनत डोल्पामा जगदुल्ला हिमाल पनि प्रख्यात छ । 

    WhatsApp Image 2026-07-11 at 08.57.39.jpeg

    ईला गाउँ

    ईला सानो गाउँ हो, करीब ठेड सय बाई दुईसय मिटरको परिधिमा गुचमुच्च पक्की जस्ता देखिने घरहरु छन यहाँ । मधेशको जस्तो एकै ठाउमा गुचमुच्च बस्ती देख्न सकिन्छ । परबाट हेर्दा पक्कीको ढलान गरेका घर जस्तो लाग्न सक्छ । यता गुम्बज तथा त्रिकोण बनावटका छाना दखिदैन । यहाा अधिकांश खस क्षेत्री छन र केही दलित । अशिक्षाले गाजेको छ, कहीकतै शौचको ब्यबस्था छैन । हाल देख्न सकिएला । धेरै पढेका मानिस यहाँ फेला पर्देन । खाद्यान्नको समस्या यहाको सबैभन्दा ठूलो समस्या रहेछ । खेतीपाती उत्ति साहृो हुदैैन । खच्चड, घोडा चलाउने तथा जडीबुटी संकलन गरेर आफनो गुजारा चलाउने गर्दछन इलाबासीहरु ।

    डोल्पामा नाम चलेको गाउँ हो काईगाउ । ईलाबाट एक दिन लाग्दछ काईगाउ पुग्न । पहिले यहाँ काजी बस्थे, काजी बस्ने भएकाले पछि यसलाई काजी गाउ हुदै काईगाउ भनिन थालिएको भनाई यहाँका बुढापाका बताउँछन । जगदुल्ला खोलाको किनारमा अवस्थित यो गाँउ प्राकृतिक–रमणीय छ, घरहरु रंगरोगनयुक्त चिटिक्क देख्न सकिन्छ । यहाँ सानो बजार, प्रहरी चौकी, खाद्यान्नको अफिस, उप स्वास्थ्य चौकी, हाईस्कूल तथा फोनको सुबिधा रहेको छ । अहिले करिब १०० मेगावाटको जगदुल्ला जलविधुत आयोजना निर्माण क्रममा रहेको छ । काईगाउमा बाध थुनेर इलामा पावरहाउस प्रस्तावित छ ।

    जुम्लादेखि डोल्पाको राजमार्ग पनि यही काईगाउ भएर निर्माणधीन अवस्थामा छ । करबि ५५ घर रहेको यहाँ पनि खस क्षेत्रीहरु कै बाहुल्य छ । बुढा अर्थात बुढाथोकीहरु बढी पाईन्छन । तर यताका खसहरु मिश्रित द अनुहारका देखिन्छन । एक एक घर ठकुरी, थकाली र गुरुङ्गको घर पाईन्छ । ब्राम्हणहरु यि क्षेत्रमा भेटिदैनन ।

    यहाँको जीवनशैली पूर्णत तिब्बती शैलीको छ । हिन्दु र बौद्व दुबैको प्रभाव रहेको यहाँका घरहरुमा काठको खम्बामा मान्छेको मुखावृत्ति सरहको आकृत्ति कोर्ने चलन छ । यसलाई देउताको रुपमा मान्ने र यसले खराब कुराहरु घर आउन दिदैन भन्ने भनाई रहेको छ । यो मिश्रको पिरामिडमा चित्रित मुखावृत्ति जस्तो लाग्दछ । हिन्दुहरुले यसलाई स्वाके र बौद्वहरुले भाक्पा भन्दछन । घर अगाडि रातो, पहेलो तथा सेतो कपडाको लिङ्गो राख्ने चलन छ । हिन्दुहरुले पनि कर्मकाण्ड बौद्व लामाबाट पनि गराउने चलन छ । मकै, आलू र दाल यहाको मुख्य फल्ने बाली हो । गाई, पाठा, घोडा पाल्ने छ । काठ तथा दाउराको कुनै कमी छैन । जडीबुटी यहाको मुख्य आम्दानीको स्रोत रहेको छ । यार्सागुम्बा, सुगन्धित, भूतलिया, उतिस आदि जडीबुटीहरु रहेका छन ।

    असाध्यै चिसो ठाउँ, पानी धेरै बेर खेलाउन सकिन्न, हातै अरर बनाउने ठण्डाबाट बच्न सकिएन भने घाँटी समाईहाल्ने । भोटे चिया खाई रहनु पर्ने होइन भने चिसोले भेट्टाउने डर । यहाँ अलि पढेलेखेका मानिसहरु भेटिन्छन ।

    WhatsApp Image 2026-07-11 at 08.57.39 (2).jpeg

    काईगाउका खस महिला

    काईगाउबाट ढेड दिन लाग्छ दुनै पुग्न । हामी मध्ये आधा जसो हिडाई थकाईका कारण बिरामी परिसकेका थियौ । यसै कारण घोडा चढने अवसर जुरयो । उकालो चढदा त ठीकै हुन्छ, ओरालो झर्ने बेला घोडाबाट खस्ने डर । रमणीय काईगाउलाई छाडदै उच्च डाँडा तर्फ लाग्यौ, बलङ्गग्रा लेकमा । करीब ३८०० मीटर उचाईमा रहेको उक्त लेकबाट डोल्पाको धेरै हिमालहरु देख्न सकिन्छ, बडो मनमोहक दृश्य लाग्छ यहाँ पुगिसकेपछि । यो लेकमा यार्सागुम्बा पाईने रहेछ । बेलाबेलामा चिसो हावा जोडले बग्छ । काईगाउदेखि लेकसम्म कहीकतै बस्तीहरु भेटिदैन ।

    यो लेकबाट करीब एक घण्टाको ओरालोमा सानो बस्ती घोडाखोर पुगिन्छ । सानो एक पसल छ । यसको दुई घण्ठामा गुरुङ्गहरुको बस्ती खालीवन पुगिन्छ ।  यहाँ ३० घर छ । खानामा तरकारी खासै नपाउने, आलु र सिस्नो बाहेक । भाले असाध्ये महंगो । यहाँबाट करीब दुई घण्टामा त्रिपुराकोट पुगिन्छ । यस क्षेत्रको प्रख्यात त्रिपुरासुन्दरीको मन्दिरको बिशेष सांसकृतिक महत्व रहेको छ । भेरीको तीरमा अवस्थित त्रिपुराककोटबाट निकै पर दुनै रहेको अनुमान लगाउन सकिन्छ ।

    दुई घण्टामा भेरीको देब्रे किनारको माथि जुफाल पुगिन्छ । यस क्षेत्रमा दिउसो हावा चलिरहने हुनाले हवाइृजहाज प्राय बिहान दश बजे भित्र आईपुग्छ । यो एयरपोर्टमा जहाज आउने र उडनका लागि दरै मुटु हुनु पर्छ । मलाई कर्णालीको रमाइलो भनेकै जहाज चढनु जस्तो लाग्छ, पीगं खेले जस्तै अनुभूति हुने । डर चाँहि घरमै राखेर आउनु पर्छ । यहा होटल लजहरु छन, फोन छ तर भरपर्दो भने छैन, खाद्यको अफिस पनि छ । खाद्यले चामल बाडेको दिन गाउ गाउबाट डोल्पेलीहरु आउछँन । बास्तवमा कर्णाली क्षेत्रमा दुर्गम ग्रामीण क्षेत्रका मानिसहरु हेर्न छ भने खाद्य संस्थानमा जानु पर्छ, चामल बाड्ने दिन ठूलै लाम देख्न सकिन्छ ।

    WhatsApp Image 2026-07-11 at 08.57.39 (3).jpeg

    त्रिपुरासुन्दरीको मन्दिर तथा भेरी तथा दुनै क्षेत्र

    त्यहाँ एक ठाउ ईन्टरनेटको सुबिधा पनि रहेछ । काठमाण्डौको नोबेलबाट ईन्टर सिध्याएर आफनै ठाउमा ईन्टरनेट सेवा खोलेका ति शाही थरका युवकलाई धन्यबाद नदिई रहन सकिन्न । अरु सबै बिदेश जान्छन, होइन भने शहरतर्फ रमाउछन तर ति युवक आफनै यस दुर्गम ठाउमा होटल ब्यबसायसंगै ईन्टरनेट चलाएर बसेका छन । ईन्टरनेटमा बसेपछि साच्चै नै घरआगन नजिक रहेको आभास लाग्दछ । यहाँ बिदेशीहरुले ईन्टरनेट प्रयोग गर्दा रहेछन ।

    कूल मानव बिकास सूचकांक ६८ औ, साक्षरता दर २६.५ प्रतिशत तथा स्रोत साधनमा धनी भईकन पनि त्यस माथिको पहुच अर्थात प्रति ब्यक्ति आय केवल ४२७ रहेको तथ्यांकहरुले गरीब जिल्लाको चित्रण गरेता पनि बिकासको सम्भाब्यता प्रचुर मात्रामा छ । शिक्षा क्षेत्रको बिकास नितान्त आवश्यक छ । जिल्लासम्म पुग्ने एक भरपर्दो बाटो र भरपर्दो हवाईयात्रा यहाको प्रमुख आवश्यकता हो । प्राकृतिक स्रोत साधनको सही ब्यबस्थापन र पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकने हो भने डोल्पालीहरुको सामाजिक आर्थिक अवस्था निकै राम्रो हुनेमा शंका छैन ।

     

    (डा. चौधरीले नेतृत्व तथा सुशासन विषयमा विद्यावारिधि गर्नु भएको छ र देशको सबै जिल्ला पुग्नु भएको छ । पूर्वाधार विकास तथा सामाजिक वातावरण अध्ययनको क्रममा उहाँ देशका अधिकांश गाउँठाउ पुग्नु भएको छ र समाजलाई नजिकबाट हेर्नु भएको छ । उहाँका आधा दर्जन पुस्तक कृतिहरु छन् भने दर्जोनौ अनुसन्धानमूलक कृतिहरु छन् ।)

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend