Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पक्राउ गर्न प्रहरी परिचालन

सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, पक्राउ गर्न प्रहरी परिचालन

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य दीपक मनाङेलाई ५ वर्षको जेल सजाय हुने फैसला सदर गरेपछि अब उनको सांसद पद के हुन्छ भन्नेमा चासो बढेको छ । कानुनका जानकारहरूले मनाङेको सांसद पद निलम्बन हुने बताएका छन् ।

    यद्यपि कैद भुक्तान गरिसकेपछि उनी राजनीतिमा फर्किने बाटो भने बन्द हुने छैन । वरिष्ठ अधिवक्ता शालिग्राम सापकोटाले ज्यान मार्ने उद्योगमा दोषी ठहर भएर जेल सजाय सुनाइएकाले अब मनाङेको सांसद पद निलम्बन हुने बताए ।

    यद्पि कैद भुक्तान गरिसकेपछि मनाङे राजनीतिमा फर्किन सक्ने उनले बताए । ‘मनाङेको सांसद पद अहिले निलम्बन हुन्छ । तर, उहाँ कैद भुक्तान गरेर राजनीतिमा फर्किन सक्नुहुन्छ,’ सापकोटाले भने ।

    यसबारे गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले भने कानुन व्यवसायीसँग परामर्श गरेर निर्णय लिने बताएका छन् । ‘अदालतको एउटा फैसला आएको छ । अब निलम्बनलगायतका विषयमा कानुनविद्सँग परामर्श गर्छु, उनले भने ।

    गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङे दोषी ठहर भएका हुन् । मनाङेलाई यसअघि उच्च अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय हुने फैसला सुनाएको थियो ।

    उक्त फैसलाविरुद्ध उनी सर्वोच्च गएका थिए । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङे दोषी ठहर हुने फैसला सदर गरेको हो ।

    २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा मनाङेसहित उनको समूहका युवाहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । घटना भएको २० वर्षपछि सर्वोच्चले यो मुद्दामा फैसला सुनाएको हो । यसबीचमा मनाङे राजनीतिमा प्रवेश गरी पटक–पटक मन्त्री भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    Copyright © All right reserved to digdarshan.com Site By: SobizTrend